आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

पछिल्लो समयकी चर्चित नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन् । पुनम इन्टरटेनमेन्टले निर्माण गर्न लागेको नयाँ चलचित्रमा (नाम नखुलाइएको) नायिका साम्राज्ञीसँगै नायक पुष्प खड्का यसअघि नै अनुबन्धित भइसकेका थिए । अब चलचित्रमा पुष्प र साम्राज्ञीको जोडी देख्न पाइने भएको हो । चलचित्रकी निर्मात्री पुनम गौतम क्षेत्रीका अनुसार पटकथाको पहिलो ड्राफ्ट तयार भएदेखि नै साम्राज्ञी उनको रोजाईमा परेकी छिन् ।

‘एउटा सुन्दर फिल्म बनाउने हाम्रो अभिलाषा साम्राज्ञीको आगमनसँगै झन् मजबुत भएको अनभूति भएको छ ।’, पुनमले बताइन् । नायिका साम्राज्ञीले पनि चलचित्रको कथा रोचक लागेकोले अभिनयका लागि राजी भएको बताइन् । ‘इन्टु मिन्टु लन्डनमा पछि जति पनि कथा सुनिरहेकी थिएँ त्यसमा यो चलचित्रको कथा बिल्कुलै फरक छ । कथासँगै निर्माण टिम पनि राम्रो लागेकाले राजी भएकी हुँ,’ साम्राज्ञीले भनिन् । चलचित्रमा साम्राज्ञी र पुष्पसँगै रेबिका गुरुङको पनि मुख्य भूमिका रहने बताइएको छ । माघको दोस्रो हप्ताबाट सुटिङमा जाने चलचित्रको नाम भने निर्माण टिमले अहिलेसम्म पनि सार्वजनिक गरेको छैन । बाँकी कलाकार र नामऔपचारिक कार्यक्रम गर्दै सार्वजनिक गर्ने निर्माण टिमको तयारी रहेको छ । गोविन्द फुयाँलको लेखन रहेको चलचित्र नवल नेपालले निर्देशन गर्दैछन् । चलचित्रको छायाँकारको रुपमा पनि सञ्जय लामा अनुबन्धित भइसकेका छन् । चलचित्रमा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहनेछ । निर्माणमा पुनम गौतमलाई राजा प्रधानले सघाउने छन् ।