पुस ५, काठमाडौं । सानै उमेर बाट गितसंगितमा रुचि राख्दै आएका अमन प्रधान अहिले दर्शक तथा स्रोतको मनमुटुमा बस्न सफल भएका छन् । आफु चार बर्ष हुँदा बाटै जिंगलमा आवाज दिएर सांगितिक क्षेत्रमा प्रवेश गरेका अमन अहिले मात्र १५ बर्षको पुगे । उनले १५ बर्षको उमेर भित्रै ५० वटा गितमा आवाज दिइसकेका छन् । टिनएजर दर्शक तथा स्रोतामा केन्द्रित रहेका अमनले अहिले सम्म ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टेज टेकिसकेका पनि छन् ।
गायक तथा संगीतकार राहुल प्रधानका छोरा अमन अहिले कक्षा ९ मा बालुवाटास्थित टर्किज स्कुल मेरोडियन इन्टरनेशनलमा अध्ययनरत छन् । उनले १० बर्षको उमेरमै ‘अमन द रकस्टार’ नामक एल्बम ल्याएका थिए । त्यसपछि दोस्रो एल्बमका रुपमा ‘रकस्टार रि–लोडेड’ ल्याएका अमनयतिखेर ‘रक द वल्र्ड’ ल्याउने तयारीमा छन् ।
नेपाली ‘रकस्टार’का रुपमा स्थापित हुनेक्रममा रहेका अमनले आफ्नो नयाँ गीत ‘माया’को म्युजिक भिडियो रिलिज गरेका छन् । शनिबार एक कार्यक्रम गरी भिडियो सार्वजनिक भएका जानकारी दिएका अमनले आफ्नो गित फरक र उत्कृष्ट भएको जानकारी गराएका थिए । म्युजिक भिडियोमा अमनसँगै इटालियन मोडल माया रोसेन्बर्ग खानले मोडलिङ गरेका छन् । आफ्नो गीतको टाइटल पनि माया र भएकाले मायालाई भिडियोमा अभिनय गराएको अमनले बताए ।
यस सन् २०१५ मै टर्कीद्वारा आयोजित ‘आइएफएलसी’ नामक गायन स्पर्धामा अमनले दोस्रो स्थान हासिल गरेका थिए । प्रतियोगितामा १४ देशका प्रतिभा छनोट भएका थिए । उक्त प्रतियोगितामा पहिलो स्थान भने थाइल्याण्डले पाएको थियो । प्रतियोगिताको दौरानमा जर्मनी र रोमनियामा ३० हजारभन्दा बढी दर्शकमाझ प्रस्तुत भएको स्मरण गर्दै अमनले भने, ‘त्यहाँ टर्किज र नेपाली भाषाका गीत गाएको थिए ।’ आफ्नो हरेक एल्बममा ‘रक’ जोड्दै आएका अमनको उद्देश्य पनि एक सफल रकस्टार बन्नु हो ।