चैत, पोखरा । गएको शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बहाव’को पोखरामा रेडकार्पेट प्रिमियर गरिएको छ । गएको बुधबार काठमाडौंमा प्रिमियर गरेसँगै पोखरामा पनि बिहीबार प्रिमियर गरिएको थियो ।
चलचित्र निर्माता श्रीधर पौडेल, कलाकार सुरक्षा पन्त र कमलमणि नेपाल तथा लेखक र निर्देशक प्रमोद कँडेलको सहभागितामा पोखरामा चलचित्र बहावको रेडकार्पेट प्रिमियर शो भएको प्रचारका संचालक आशिष पुरीले जानकारी गराएका छन् । उक्त शो चलचित्र पत्रकार संघ कास्कीको समन्वयमा प्रचारसँगै स्पेक्स फोर्टिनले मिडटाउन सिनेमाजमा आयोजना गरेको थियो ।
यस्तै कलाकार कमलमणि नेपालले आफुले अहिले सम्म गरेका अभिनय भन्दा फरक अभिनय बहावमा गरेको अभिव्यक्ति दिए । उनले चलचित्र बहाव मार्फत समाजको पारिवारिक ऐना झल्काउन खोजिएको उल्लेख गरे । चलचित्रका लेखक तथा निर्देशक प्रमोद कँडेलले ‘बहाव’ दर्शकका लागि नयाँ विषयवस्तु हुन सक्ने बताए । उनले पछिल्लो समयको चलचित्रको ट्रेन्डलाई नै परिवर्तन गर्ने उद्देश्यले ‘बहाव’ को निर्माण गरिएको बताए । पोखराका दर्शकबाट उनलाई ठूलो आशा छ ।
पोखराको पहिलो दर्शक बनेका कलाकर्मी, राजनीतिज्ञ र सञ्चारकर्मीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको निर्माण टिमले जानकारी गराएको छ ।
Photo: Prachaar