असार, काठमाडौं । पोखराका प्रकट पगेनी, प्रणय गजल विधामा स्थापित नाम हो । वासनाका बाधशाह उनको उपनाम हो । रोमान्टिक गजल पारखीहरुका लागि प्रकट, आफैँमा ठूलो इनाम हो । सयौँ गीत, गजल र कविता लेखिसकेका उनी बेला मौकामा मात्र गजल पारखीहरुमाझ प्रकट हुने गर्छन । रोमान्टिक गजल भाका हाली हाली सुनाएर श्रोता र दर्शकको मनमा तरंङ्ग उत्पन्न गराउँछन् । उनै प्रकट आउँदो साउन ३ गते साँझ ५ बजे मण्डालामा प्रकट हुने भएका छन् । फर्सी नेटवर्क डटकम र रेडियो अडियोले मण्डला थिएटर अनामनगरमा गर्न लागेको मण्डलामा उनै प्रकट कार्यक्रममा उनले रोमान्टिक गजलहरु सुनाएर साँझलाई रंगीन बनाउने छन् ।
नेपाली साहित्य क्षेत्रमा निकै चर्चा कमाएका प्रकट पंगेनीले राजधानीमै बसेर पनि लामो समय कलम चलाए । थुप्रै वियोगान्त गीत, कविता र गजल थुप्रै लेखे । केहि रेकर्ड पनि गराए । तर, प्रेम र वासनासँग सम्बन्धित रोमान्टिक सिर्जनाहरु नै पाठक र श्रोताले मन पराए । गुरुकुलले प्रणयमा प्रकट दाई नाम दिएर कार्यक्रम गरेपछि उनलाई चिन्ने र मन पराउने अझै थपीए । यद्यपी, राजधानीले उनलाई राख्न सकेन । उनी अहिले पोखरामै बस्छन् । कलम चलाउँछन् । त्यसैले उनको सम्मान स्वरुप मण्डलामा उनै प्रकट कार्यक्रम राखिएको रेडियो अडियोले जनाएको छ ।