सल्यान महोत्सवमा भीषण आगलागी, करोडौंको क्षति

...

काठमाडौँ । दोस्रो वृहत सल्यान महोत्सवमा भीषण आगलागी भएको छ । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान, सल्यानको आयोजनामा सञ्चालन भइरहेको महोत्सवस्थलमा आगलागी भएको हो । पछिल्लो १० दिनदेखि सञ्चालन भैरहेको महोत्सवमा आगलागी हुँदा करोडौं मूल्य बराबरको सामान जलेर नष्ट भएको बताइन्छ । महोत्सवमा राखिएका १३५ स्टल मध्य ८० स्टलमा आगलागी भएको छ ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान, सल्यान स्रोतका अनुसार गत माघ १८ गतेदेखि जारी महोत्सवमा शनिवार नवौं दिन राति आगलागी भएको हो । राति ११ बजे स्टलमा आगलागी भएको थियो । आगलागीबाट ८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयद्वारा राति नै आगो नियन्त्रणमा लिएको सल्यान प्रहरी प्रमुख केशर न्यौपानेले जानकारी दिएका छन् । आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।