दुःखी आत्माले पाएन रिलिज अनुमति

...

काठमाडौँ । प्रेम दिवसको दिन पारेर शुक्रबारबाट नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा आएको फिल्म ‘दुःखी आत्मा’लाई युएईमा भने प्रतिबन्ध लगाइएको छ । दुईपटक सेन्सर गर्दा पनि ‘युएई मिडिया काउन्सिल’ले रिलिज अनुमति नदिँदा युएईमा बस्ने नेपालीहरु फिल्म हेर्नबाट बञ्चित भएका छन् । युएईमा फिल्म सेन्सर पास नहुँदा अर्को देश बहराइनमा पनि फिल्मको रिलिज रोकिएको छ ।

युएईमा फिल्मको दुईपटक सेन्सर गरिएको थियो । तर, दुवैपटक फिल्म सेन्सर पास हुन सकेन । मिडिया काउन्सिलको निर्देशन बमोजिम केही दृश्य काँटछाँट गरेर दोस्रो पटक सेन्सरमा लैजाँदा समेत फिल्म पास नभएको निर्देशक दीपेन्द्र लामाले जानकारी दिए । मिडिया कन्टेन्टको सीमाभित्र नपरेका कारण युएईले फिल्म रिलिजमा रोक लगाएको हो ।

युएईको ‘मिडिया काउन्सिल’ले गरेको निर्णय बहराइनमा पनि लागू हुन्छ । यसैले बहराइनमा समेत ‘दुःखी आत्मा’को रिलिज रोकिन पुगेको छ । फिल्मले यौन दुर्बलता (इरेक्टाइल डिसफङ्सन)को विषय उठान गरेको छ । यो पात्रको भूमिकामा अभिनेता दयाहाङ राईले अभिनय गरेका छन् । उनको जोडी बनेर अभिनेत्री आँचल शर्मा प्रस्तुत छिन् ।