अब ‘कमेडी दरबार’का महाराजा मनोज गजुरेल

...

काठमाडौं । अभिनेता विजय बरालले  आफ्नो व्यस्तताका कारण ‘कमेडी दरबार’ बाट बिट मारेपछि कमेडी टिभी शो ‘कमेडी दरबार’मा मनोज गजुरेलको प्रवेश भएको छ । शोका निर्माताले सोमबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएका हुन् । २७ औं एपिसोडबाट गजुरेललाई महाराजाको भूमिकामा देख्न पाइने भएको छ । गौरी मल्ल भने महारानीको भूमिकामा यथावत हुनेछिन् । प्रेसमिटमा विजय र गौरीसहित हिमेश पन्त लगायतका कमेडियन पनि सहभागि थिए ।

होस्ट समेत रहेकी पूर्वमिस नेपाल नम्रता श्रेष्ठको ठाउँमा सजिना खनालको प्रवेश भएको छ । सौन्दर्य प्रतियोगिता मिस सुप्रान्यासनल २०२४ की विजेता समेत रहेकी सजिनाले शोका निर्देशक समेत रहेका विक्की अग्रवालसँग मिलेर शो होस्ट गर्नेछिन् ।

‘कमेडी दरबार’ पछिल्लो समय रुचाइएको कमेडी शो मध्ये पर्छ । अतिथिलाई नै रोस्ट गर्ने शैलीमा निर्माण गरिएको यो शो प्राइम टिभीमा प्रसारण हुने गर्छ । निर्देशक अग्रवाल ‘कमेडी च्याम्पियन’बाट चर्चामा आएका हुन् ।