
काठमाडौं । पाटन उच्च अदालतको आदेशपछि रोकिएको टिभी श्रृंखला ‘सक्किगो नि’को प्रसारण आउने विहिबारदेखि हुने भएको छ । ९१ औं एपिसोडको छायांकन सोमबार काभ्रेको पाँचखालमा गरिएको छ । सोमबार अर्जुन घिमिरे पाँडे, हरिश निरौला कक्रोच, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी लगायतका कलाकारको दृश्य छायांकन गरिएको थियो । निर्माता कम्पनी जेपिटी क्रिएसनका प्रमुख समेत रहेका कलाकार घिमिरेले ९१ औं एपिसोडको छायांकन पुरा भएको र आउने विहिबार टिभी र युट्युबमा आउने बताए ।
बुधबारदेखि रिलिज हुन लागेको कम्पनीकै निर्माण रहेको फिल्म ‘लाज शरणम्’को प्रवर्द्धनको सन्दर्भमा एपिसोडको छायांकन गरिएको हो । ‘यो पूर्णरुपमा प्रमोसनल एपिसोड हो’ पाँडेले भने । यो एपिसोडमा मुकुन्द र महेशसहित पाँडे, सागर लम्साल बले, बबिन राई, सुरक्षा इटनी, कक्रोच, कमलमणी नेपाल, गोविन्द कोइराला, सीतादेवी तिमल्सिना, भावना आचार्य, पुरुषोत्तम आचार्य देखिनेछन् ।
पाटन उच्च अदालतले गतसाता अफ्ताव आलमको रिटमा सुनुवाई गर्दै सेन्सरअघि फिल्मको प्रचारप्रसार रोक्न आदेश दिएको थियो । जसको असर यो ‘सक्किगो नि’ सिरियलको प्रसारणमा समेत परेको थियो । अदालतको आदेशपछि छायांकन हुँदाहुँदैको एपिसोड रोकिएको थियो । सोमबार भने एपिसोड सुटिङ पुरा भएको छ । दर्शकले फिल्म रिलिजको भोलिपल्ट विहिबार हिमालय टिभी र युट्युब प्लाटफर्ममा सिरियललाई हेर्न पाउनेछन्