
काठमाडौँ । सामाजिक सञ्जालमा मौलिक गीत गाएर भाइरल भएकी राधिका बादीको निधन भएको छ । ४२ वर्षीय राधिकाको आइतबार बिहान कालिकोटको थिरपुमा निधन भएको हो । उनी केही दिनदेखि सामान्य बिरामी थिइन् । उनी अस्पताल जान नपाउँदै र रोग पत्ता लाग्न नपाउँदै उनको निधन भएको हो ।
राधिका बादी र उनका श्रीमान् जोगेन्द्र बादी बाजुराको बडिमालिका नगरपालिका–२ का बासिन्दा हुन् । यो जोडी मौलिक लोकगीत गाएर जीविकोपार्जन गर्दै आएको थियो । विशेष गरी राधिकाको मादल बजाउने कला र समधुर स्वरमा गाउने मौलिक गीत उत्कृष्ट मानिन्थ्यो, जसले सामाजिक सञ्जालमा धेरैको मन जितेको थियो ।
उनले मादल बजाएर ‘नशा नशामा रगत रगतमा..’ बोलको गीत गाएको भिडियो भाइरल बनेको थियो । राधिकाको निधनको खबरले कला प्रेमीहरू शोकमा डुबेका छन् ।