
काठमाडौं । अभिनेत्री अरुणिमा लम्सालले श्रीमान युवराज श्रेष्ठविरुद्ध सुनसरी जिल्ला अदालतमा सम्वन्धविच्छेद र अंशमुद्दा हालेको खुलेको छ । उनले सोही अदालतमा विवाह दर्ता गरेकी थिइन् । हालै नेपाल आएका बखत अरुणिमाले विभिन्न अन्तरवार्ताहरूमा श्रीमानसँग कुनै अंशको दावी नगरेको बताएकी थिइन् । तर, उनले दिएको निवेदनमा अंश माग गरिएको पाइएको छ । श्रीमानको सम्पत्तिलाई परिवारमा ६ भाग लगाएर त्यसको एक भागको आधा भाग आफूले पाउनुपर्ने उनले फिरादपत्रमा उल्लेख गरेकी छन् ।
युवराजको परिवारमा बुवा, दुईवटी आमा, एक दाजु र एक भाइ रहेको हुँदा मुल अंश ६ भाग लगाउने प्रस्ताव उनले गरेकी हुन् । युवराजले पाउने एक भागको आधामा उनको दाबी छ ।
आफ्नो फिरादपत्रमा अरुणिमाले श्रीमानमाथि विभिन्न आरोपहरू लगाएकी छन् । उनको मुख्य आरोप आफूलाई विहेअघि झूटो कुराहरू बोलेको भन्ने छ । आफूलाई सिँढी बनाएर अमेरिका आउनका लागि मात्रै विवाह गरेको उनले बताएकी छन् ।