मातातीर्थ औँसीमा ‘महाभोज’को भावुक भिडियो

...

काठमाडौँ । आगामी जेठ १५ गते (गणतन्त्र दिवस)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘महाभोज’को मातातीर्थ औँसीको दिन पारेर एउटा भावनात्मक भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री वसुन्धरा भुसालबीचको मनछुने संवाद समावेश छ । वसुन्धरा दिवंगत छोरालाई सम्झिँदै भावुक हुँदा दयाहाङले आफ्नो आमाजस्तै सधैं माया गर्ने भाव व्यक्त गरेका छन् ।

दृश्यमा वसुन्धराले दयाहाङलाई केही रकम दिन्छिन्, जसलाई दयाहाङले हल्काफुल्का शैलीमा गर्दै ‘खाइदिन्छु’ भन्छन् । त्यसपछि वसुन्धराले उनलाई इमानदार भएको भन्दै विश्वास प्रकट गर्छिन् । भिडियो अनुसार उक्त रकम सहकारीमा जम्मा गर्न दिइएको बुझिन्छ । अघिल्लो साता सार्वजनिक टिजरबाट दयाहाङ सहकारीको अध्यक्षको भूमिकामा रहेको खुलिसकेको छ ।

दिनेश राउतको निर्देशनमा तयार भएको फिल्ममा दयाहाङ र वसुन्धरासहित आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, वीरेन्द्र सिंह कुशवाह लगायतको अभिनय छ । फिल्ममा विकास सुवेदीको लेखन छ ।