
काठमाडौँ । आजबाट हलमा ‘के घर के डेरा : घर नं. २’, र ‘हेल्लो काँशीराम’ दुई नेपाली फिल्म एकसाथ लागेका छन् । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा : घर नं. २’ को कथा बुद्धिसागरले लेखेका हुन् । फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, सृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायतको अभिनय छ । फिल्मले घरबेटी र डेरावालको कथा भन्छ । फिल्मले देशभर १६२ सो पाएको छ ।
यस्तै रिम विश्वकर्माको लेखन तथा निर्देशन रहेको फिल्म ‘हेल्लो काँशीराम’ कमेडी शैलीमा निर्माण भएको फिल्म हो । फिल्मको कथा रहस्यमय रहेको बताइन्छ । दिलीप रायमाझीसँगै वरिष्ठ कलाकारहरू सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल देखिने छन् ।
त्यस्तै, हालका चर्चित हास्य कलाकार उमेर राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरी लगायतका कलाकारको अभिनय रहेको फिल्म छ । फिल्ममा चर्चित अभिनेत्री प्रियंका कार्कीको समेत विशेष भूमिका छ ।