
काठमाडौँ । नेपथ्यले अस्टिन सहरका दर्शकलाई लोकरक धुन सुनाउँदै यस वर्षको अमेरिका यात्रा प्रारम्भ गरेको छ । टेक्सासको यो राजधानी सहरस्थित हल ‘इमोज’ मा शनिबार बेलुकी ९ बजे नेपथ्य कन्सर्ट सुरु भएको थियो । नेपथ्यले भर्खरै सार्वजनिक गरेको गीत ‘कर्नालीका छाइला’लाई ब्यान्डले यसै कन्सर्टमा पहिलोपटक गाएर सुनाएको थियो । नयाँ गीत सुनिरहँदा दर्शक उत्साहित देखिन्थे । ।
कन्सर्टका लागि स्थानीय समयअनुसार बेलुकी ८ बजे इमोज हलका ढोकाहरू खुलेका थिए भने त्यसको ठिक एक घण्टापछि पर्दामा ‘सा कर्णाली’ र ‘मै मरिजाऊँला’ गीत बज्न सुरु भएको थियो । त्यसलगत्तै मञ्चमा उपस्थित ब्यान्डले ‘कोशीको पानी’ बाट प्रस्तुति सुरु गरेको थियो । आठौं क्रममा ‘शिरफूल’ सुनाए लगत्तै ब्यान्डले ‘कर्नालीका छाइला’ प्रस्तुत गरेको थियो । अमेरिकाका सातवटा सहरमा शृङ्खलाबद्ध कन्सर्ट प्रस्तुत गर्ने योजनासाथ ब्यान्ड यसै साता टेक्सास आइपुगेको हो । अस्टिनमा नेपथ्यको यो पहिलो कन्सर्ट हो । टेक्सासको अर्को सहर डालासमा भने ब्यान्ड यसअघि पनि दुईपटक प्रस्तुत भइसकेको छ ।
नेपथ्यले एक महिना लामो यात्राको कार्यसूची सहित सातौँपटक अमेरिकाको यात्रा गरिरहेको छ । यात्राको प्रारम्भदेखि नै मुख्य गायक एवं अगुवा अमृत गुरुङले सामाजिक सञ्जाल एक्स र फेसबुकमार्फत ब्यान्डको यस यात्राबारे प्रशंसकलाई अवगत गराउँदै आएका छन् । अमेरिका यात्राको दोस्रो प्रस्तुतिका लागि ब्यान्ड दक्षिणवर्ती राज्य टेक्सासबाट क्यानाडासँग सिमाना जोडिएको उत्तरी वासिङ्टन राज्य पुग्दै छ ।
उक्त राज्यको सबै भन्दा ठुलो सहर सियाटलमा मे २३ मा नेपथ्य प्रस्तुत हुने तयारी छ । त्यसपछि ब्यान्ड मे २६ मा क्यालिफोर्नियाको लस एन्जलस, ३१ मा पेन्सिलभेनियाको पिट्सबर्ग, जुन ७ मा इलिनोइसको सिकागो, ११ मा म्यासाचुसेट्सको बोस्टन हुँदै अन्तिममा जुन १४ मा नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो सहरमा प्रस्तुत हुनेछ ।