रहेनन् कलाकार घनश्याम गौतम, भनेका थिए ‘नाम भन्दा पैसा ठुलो रहेछ’

...

काठमाडौं । क्यान्सर पीडित कलाकार घनश्याम गौतमको निधन भएको छ । गौतमको सोमबार राति निधन भएको उनको परिवारले जानकारी दिएको छ । ४३ बर्षिय गौतम बिगत दुईबर्ष देखी क्यान्सर रोगको उपचार गराउँदै आएका थिए । उनको भक्तपुर ताथलीस्थित काठमाडौं क्यान्सर अस्तालमा उपचारकै क्रममा निधन भएको हो ।

उनले आफ्नो सहयोगका लागी सामाजिक सन्जालमार्फत हारगुहार गरिरहेका हुन्थे । कतिपय कलाकर्मी सहयोग रकम लिएर अस्पतालको बेडमै पनि पुगेका थिए । बिशेषगरी नक्कली प्रचण्ड भनेर उनलाई चिन्ने गरिन्थ्यो । त्यसैले पनि उनलाई भेट्न एकपटक पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पनि अस्पतालमै पुगेका थिए । उनलाई सहयोग गर्ने बाचा गरेका थिए तर पनि उनीबाट सहयोग पाइएन भन्दै घनश्यामकै फेसबुकबाट उनकी श्रीमतीले पोष्ट पनि गरेकी थिइन् ।
घनश्यामले कलाकारिताको सुरुवातमा मेरी बास्सै टेली शृंखलाबाट यात्रा अगाडी बढाएका थिए । हातेमालो सञ्चारमार्फत रंगक्षेत्रमा सक्रिय गौतम सडक नाटक, रेडियो नाटक, कचहरीका लागि समेत उत्कृष्ट कलाकार मानिन्थे । उनी अभियान थिएटरमा पनि सक्रिय थिए। यसका अतिरिक्त उनी विभिन्न स्कुलहरूमा पनि अभिनय सिकाउने गर्दथे ।

उनले भनेका थिए, नाम भन्दा पैसा ठुलो रहेछ

एकबर्ष अघि आर्टिष्ट खबरसँग कुरागर्ने क्रममा कलाकार गौतमले भनेका थिए
“आफू बिरामी भएर ओछ्यानमा पल्टिदा बल्ल थाहा भयो जीवनमा पैसा ठुलो रहेछ । मलाई पहिला नाम नै ठुलो लाग्थ्यो, म कहिल्यै पनि पैसाको पछाडी दौडिइन । परिवारमा जहिल्यै गाली गर्नुहुन्थ्यो, अरु मान्छेहरु पैसा कमाउन लाग्छन्, देश बिदेश पुग्छन् । यतिबेला लाग्छ कि नाम भन्दा त पैसा नै ठुलो रहेछ । जतिबेला आफूलाई पैसाको आवश्यकता पर्छ अनि थाहा हुनेरहेछ । त्यतिबेला पैसाले नै आफूलाई बचाउने रहेछ ।
यो मान्छे कलाकार हो भनेर मलाई अस्पतालले उपचार गर्दैन । म जहाँ गएपनि नाम भन्दा अगाडी पैसा राख्नुपर्छ । पैसा भयो भने सबैकुरा हुँदो रहेछ । मलाई समयले सिकाएको हो । बिरामी हुनुभन्दा अगाडी नाम नै ठुलो लाग्थ्यो तर अहिले पैसा ठुलो लाग्छ ।”