नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक ‘साहु बा’, ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

...

काठमाडौं । नेपाली डिजिटल प्लेटफर्ममा पछिल्लो समय वेबसिरिजको लहर चलिरहेका बेला एउटा नयाँ सिरिजले दर्शकको विशेष ध्यान तान्न सफल भएको छ । म्युजिक नेपाल र फ्रेम इन मोसनको संयुक्त प्रस्तुतिमा निर्माण भएको वेबसिरिज ‘साहु बा’ सार्वजनिक भएसँगै यसको कथावस्तु र मेकिङलाई लिएर चर्चा सुरु भएको हो ।

साप्ताहिक रूपमा म्युजिक नेपाल इन्टरटेनमेन्टको आधिकारिक युट्युब च्यानलबाट प्रसारण भइरहेको यस सिरिजका हालसम्म दुई एपिसोड सार्वजनिक भइसकेका छन् । सार्वजनिक एपिसोडहरूले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छन् ।

विशेषगरि, ‘क्राइम, एक्सन र रिभेन्ज’ (बदला) मा केन्द्रित कथावस्तुमा रहेकोसाहु बा सिरिजले आफ्नो वृहत् क्यानभास र एक्सनका कारण दर्शकको विशेष ध्यान तान्न सफल भएको छ ।

साहु बाको सबैभन्दा चर्चामा रहेको पक्ष यसमा आबद्ध कलाकारहरूको संख्या हो । नेपाली वेबसिरिजको इतिहासमा सम्भवतः पहिलो पटक ३८० जना भन्दा बढी कलाकारले यसमा अभिनय गरेका छन् । यस सिरिजमा प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, सरिता गिरी, नम्रता श्रेष्ठ, अमित शाह, अमित गिरी, प्रियंका चौधरी, हिना नगरकोटी, बिमल पुरी, रमेश अधिकारी, प्रदीप बाँस्तोला, कृष्ण भक्त महाजन लगायतका नेपाली चलचित्र र रंगमञ्चका स्थापित कलाकारहरूको अभिनय रहेको छ ।

सार्वजनिक भएका सुरुवाती दुई एपिसोडले सिरिजकोक्राइम, एक्सन र रिभेन्ज’ (बदला) को थिमलाई प्रस्ट पारेका छन् । कथाको सुरुवात सीमापारिबाट हुने अवैध कारोबार र धनको चलखेलबाट हुन्छ । पहिलो एपिसोडमा एउटा ठूलो सडक दुर्घटना र त्यसले निम्त्याएको सस्पेन्सले दर्शकलाई बाँधेर राख्छ ।

सिरिजको मुख्य पात्रको रूपमा विजु पार्की देखिएका छन् । भिडियोका दृश्यहरूमा उनलाई एक सङ्घर्षशील र बदलाको भावमा जलिरहेको युवकको रूपमा प्रस्तुत गरिएको छ । रगतले लतपतिएको हातमा कागजको जहाज देखिने दृश्यले उनको बाल्यकालको कुनै गहिरो घाउ वा स्मृतिलाई सङ्केत गर्दछ, जसले सिरिजमा भावनात्मक गहिराइ पनि रहेको बुझाउँछ ।

नेपाली सिरिजहरू प्रायः लामो संवादमा अल्झिने गरेको गुनासो आउने गर्छ । तर, ‘साहु बाले यो परम्परालाई तोड्दैसिनेम्याटिक एक्सनलाई प्राथमिकता दिएको छ । आगो, आधुनिक हतियार, सडकका चेस दृश्यहरू र अस्पतालभित्रका रहस्यमय घटनाक्रमहरूले सिरिजमा भरपूर थ्रिल प्रदान गर्छन् ।

निर्देशक एवं लेखक सुजोय योङ निर्देशित ‘साहु बाको कुल २४ एपिसोड तयार गर्न निर्माण टोलीले करिब तीन वर्षको लामो समय खर्चिएको छ ।

आयुषमान जोशी, संगम राई र अनिश तामाङ छायाकार रहेको यस सिरिजको रामप्रसाद चौधरी सम्पादक हुन् । सागर आले, मिस्टर डी र उजन शाक्यको गीत रहेको सिरिजमा पेमा लामा र राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ ।

साहु बावेबसिरिज हरेक साता साँझ ६ बजेपछि म्युजिक नेपाल इन्टरटेनमेन्टको युट्युब च्यानलमा सार्वजनिक हुने गरेको छ । यस्तै, सबै एपिसोडहरू एकै पटक हेर्न चाहने दर्शकहरूका लागि मोमो (MOMO) एपमा सम्पूर्ण भागहरू उपलब्ध गराइएको छ।