काठमाडौं । एभरेस्ट ग्यालरीको संयोजन तथा नेपाल टेलिकमको विशेष सहयोगमा ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा शुभारम्भ गरिएको छ। अभियानको उद्घाटन हुलाक सेवा विभागकी महानिर्देशक तथा सर्जक मनमाया पंगेनी भट्टराईको नयाँ गीत ‘लैजाचरी–शान्तिको धुन’ को म्युजिक भिडियो सार्वजनिक गर्दै गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री तथा साहित्यकार एसपी कोइरालाले संगीत र साहित्यलाई समाज रूपान्तरण तथा शान्ति प्रवर्द्धनको प्रभावकारी माध्यम भएको बताउनुभयो। राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ र नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक रिना डंगोलले पनि अभियानको प्रशंसा गर्दै सकारात्मक सन्देश फैलाउन संगीतको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नुभयो।
गीतमा मनमाया पंगेनी भट्टराई र कमल सौरागको स्वर रहेको छ भने शब्द, संगीत मनमायाकै तथा संगीत संयोजन कमल सौरागको रहेको छ। भिडियोमा सनम कठायत, अस्मिता खनाल, अनुश्री भट्टराई र श्रीनिधि कठायतको अभिनय रहेको छ।
एभरेस्ट ग्यालरीका संस्थापक अध्यक्ष सनम कठायतले ‘दृश्यमा नेपाल’ अभियानको निरन्तरतास्वरूप विश्व शान्ति, मानवता र सहअस्तित्वको सन्देश फैलाउने उद्देश्यले यो अभियान सुरु गरिएको जानकारी दिनुभयो। कार्यक्रमको अध्यक्षता पूर्व डीआईजी तथा साहित्यकार महेशसिंह कठायतले गर्नुभएको थियो।





१९ जेष्ठ २०८३, मंगलवार १६:१५ 










