‘कालमाण्डू’को प्रदर्शन मिति घोषणा, सार्वजनिक भयो ‘राधा’

...

काठमाडौं । एक्सन थ्रिलर जनरामा निर्माण भएको नेपाली चलचित्रकालमाण्डूआगामी पुस २४ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले चलचित्रमा समावेशराधाबोलको गीत सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।

सम्राट न्यौपानेको स्वर तथा संगीत रहेको गीतमा रमेश देवकोटाको शब्द छ। सार्वजनिक भिडियोमा चलचित्रका मुख्य कलाकार अनिलराज पौडेल र रोशनी कार्की राधाकृष्णको भूमिकामा देखिएका छन्। पुनम श्रेष्ठको कोरियोग्राफी रहेको गीतको भिडियोमा पवन सुस्लिङको छायांकन तथा सम्पादन छ।

अपराध, रहस्य र थ्रिलरको कथासँगै प्रेमिल भाव बोकेकोराधाले चलचित्रको कथावस्तुको अर्को पाटोलाई प्रस्तुत गर्छ। निर्माणपक्षका अनुसार चलचित्रमा अपराध, रहस्य, अपहरण, मानव तस्करी, हत्या तथा पारिवारिक सम्बन्धलाई कथाको केन्द्रमा राखिएको छ।

मुभी ल्यान्ड नेपालको ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन सयनम अधिकारीले गरेका हुन्। उनका अनुसार काठमाडौंको बाहिरी चमकभित्र लुकेको अपराधको अँध्यारो संसारलाई चलचित्रमा प्रस्तुत गरिएको छ।

चलचित्रको कथा आफ्नी १९ वर्षीया बहिनी हराएपछि उनको खोजीमा निस्किएको एक दाजुको यात्रामा केन्द्रित छ। बहिनीको खोजी गर्दै जाँदा अपराधीहरूको संसारमा फस्ने दाजुले सामना गर्ने जोखिम र संघर्षलाई एक्सन, थ्रिलर तथा सस्पेन्स शैलीमा प्रस्तुत गरिएको निर्देशक अधिकारीले बताएका छन्।

कालमाण्डूमा गजित विष्ट, अञ्जन थापा, अनिलराज पौडेल, राजन अधिकारी, रोशनी कार्की, अलिशा बास्तोला, ललना चिमरिया, सुगत करणजित, विशाल पहारी, राकेश कलागाईं, शिव अधिकारीलगायत कलाकारको अभिनय छ।

चलचित्रको छायांकन काठमाडौं, ललितपुर, भक्तपुर तथा पर्साको ठोरीमा गरिएको हो। पवन सुस्लिङको छायांकन तथा सम्पादन, राजु लामा र मिस्टर काजीको द्वन्द्व निर्देशन, रवि भुजेलको सहायक निर्देशन र पुनम श्रेष्ठको कोरियोग्राफी रहेको छ।

कमल थिङ निर्माता रहेको चलचित्रमा मिलन कटवाल र शम्भु श्रेष्ठले प्रोडक्सन व्यवस्थापन सम्हालेका छन्। सिंहदेवी प्रोडक्सनले चलचित्र वितरण गर्नेछ।