‘चमेलीको पोइ’को दोस्रो गीत ‘माया मान्छौ र..’ सार्वजनिक

...

काठमाडौं । एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको प्रतीक्षित चलचित्रचमेलीको पोइको दोस्रो गीतमाया मान्छौ र..’ सार्वजनिक गरिएको छ। बिहीबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गीतमा सुरक्षा पन्त र मुकुन भुसाल प्रेमिल भावमा प्रस्तुत भएका छन्।

आशिष अविरलको संगीत, एकनारायण भण्डारीको शब्द तथा मेलिना राई र आशिष अविरलको युगल स्वर रहेको गीतको भिडियो मुस्ताङका रमणीय स्थानमा छायांकन गरिएको हो। गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।

यसअघि सार्वजनिक चलचित्रको शीर्ष गीतओइ ओइ चमेलीले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको समयमा निर्माण टिमले दोस्रो गीत सार्वजनिक गरेको हो। पोस्टर सार्वजनिक भएदेखि नै चर्चामा रहेको चलचित्रबाट करिब डेढ दशकपछि चर्चित हास्य अभिनेता नारायण त्रिपाठीप्रेमचरोठूलो पर्दामा फर्किएका छन्।

चलचित्रमा नारायण त्रिपाठीसँगै मुकुन भुसाल, सुरक्षा पन्त, विल्सन विक्रम राई, उमेश राई, रविन्द्र झा, गणेश गौतम, प्रेमदेव गिरी, अंशु महर्जन, बविन राई, खड्गबहादुर पुन, रजनी गुरुङ, मिना आरएल शाही, रितु मल्ल ठकुरी, तारा शर्मा, सुनीता सापकोटा, विशाल पाण्डे, श्रेया नारायण, धनलक्ष्मी बोहरा, अनुष्का नारायणलगायतको अभिनय छ।

धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा बनेको चलचित्रका निर्माता रामनारायण उपाध्याय र सुनीता सापकोटा हुन्। शेरबहादुर तामाङको छायांकन रहेको चलचित्रमा उदय विक्रम राणा, रितु मल्ल कुँवर, सुमीत्रा थापा र कपिल आचार्य कार्यकारी निर्माता तथा नारायण त्रिपाठी, यमप्रसाद ओली, सुदीप कुँवर र प्रदिपकुमार सापकोटा सहनिर्माता छन्।

धनलक्ष्मी श्रेष्ठ बोहरा लाइन प्रोड्युसर रहेको चलचित्रमा कुमार महर्जनको द्वन्द्व र बन्दे प्रसादको सम्पादन छ। केही समयअघि अमेरिकामा आयोजित विशेष प्रदर्शनमा दर्शकले चलचित्र मन परेको प्रतिक्रिया दिएका थिए। निर्देशक बोहरालेचमेलीको पोइले भरपुर मनोरञ्जनसँगै जीवनोपयोगी सन्देश पनि दिने बताएका छन्।

चलचित्र असोज १६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउनेछ। चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ।