हरिप्रसाद रिमालको १०२औँ जन्मजयन्तीमा अर्धकदको प्रतिमा अनावरण गरिने

...

काठमाडौं । रेडियो नेपालका प्रथम गायक तथा नेपाली रंगमञ्चका अग्रणी कलाकार स्वर्गीय हरिप्रसाद रिमालको १०२औँ जन्मजयन्ती विशेष कार्यक्रमका साथ मनाइने भएको छ । जन्मजयन्तीको अवसर पारेर आगामी असोज २ गते शुक्रबार रिमालको अर्धकदको प्रतिमा अनावरण गरिने भएको हो ।

हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठान परिवारको आयोजनामा हुने कार्यक्रममा रिमालको प्रतिमा अनावरणसँगै हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत तथा सञ्चार सेवा सम्मान तथा पुरस्कार समेत प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

रिमाललाई रेडियो नेपालका पहिलो गायकका रूपमा समेत स्मरण गरिन्छ । रेडियो नेपाल स्थापना भएपछि सन् १९५०/५१ तिर शंकर लामिछानेको रचनामा रहेकोदिल टुक्रा भएर आँखाको बाटो बगेछगीत रेकर्ड गराएर उनले रेडियो नेपालको पहिलो गायकको इतिहास बनाएका थिए । रेडियो नाटकको विकासमा समेत महत्वपूर्ण योगदान दिएका कारण उनलाईनेपाली रेडियो नाटकका पिताका रूपमा चिनिन्छ ।

रंगमञ्च तथा रेडियो नाटकका विशिष्ट निर्देशकसमेत रहेका रिमाल अभिनय र गायनमा समेत सक्रिय थिए । नेपाली कलाकारलाई लिएर नेपालमै छायांकन गरिएको पहिलो नेपाली चलचित्रआमामा समेत उनले अभिनय गरेका थिए । त्यसपछिमनको बाँध’, ‘के घर के डेरालगायतका चलचित्रमा उनको अभिनय देख्न सकिन्छ । उनले अभिनयसँगै चलचित्र निर्देशनमा समेत काम गरेका थिए ।

करिब सात दशक लामो नेपाली रंगमञ्च, रेडियो, संगीत र अभिनय यात्रामा रिमालले बहुआयामिक योगदान दिएका थिए । नेपाली रंगमञ्चलाई व्यावसायिक तथा कलात्मक रूपमा अघि बढाउने प्रारम्भिक पुस्ताका महत्वपूर्ण कलाकारका रूपमा उनको योगदानलाई स्मरण गरिन्छ ।

वि.सं. १९८२ असोज ४ गते जन्मिएका रिमालको २०७५ भदौ १५ गते निधन भएको थियो । उनको जन्मजयन्तीको अवसरमा काठमाडौंको मध्य बानेश्वरस्थित उनकै निवासमा कार्यक्रम आयोजना गरिने प्रतिष्ठानका सदस्य सचिव तथा अभिनेता सम्राट सापकोटाले जानकारी दिए ।

प्रतिष्ठानका अध्यक्ष प्रा. डा. वासुदेव त्रिपाठीको विशेष आतिथ्यमा हुने कार्यक्रममा कला तथा सञ्चार क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गर्नुका साथै रिमालको योगदानसँग सम्बन्धित पुस्तक तथा पुरस्कारसमेत प्रदान गरिनेछ ।