काठमाडौं । डेब्यु चलचित्रबाटै एक्सन स्टारको छवि बनाएका अभिनेता समीर भट्टका लागि अब प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘१२ गाउँ २’ महत्वपूर्ण बन्ने देखिएको छ। पहिलो चलचित्र ‘१२ गाउँ’बाट पाएको जबरजस्त सफलता र त्यसपछि आएको ‘बलिदान’ अपेक्षाअनुसार चल्न नसकेको अवस्थाबीच समीरको तेस्रो चलचित्र ‘१२ गाउँ २’ दर्शकमाझ आउँदैछ।
समीरको डेब्यु चलचित्र ‘१२ गाउँ’ले दर्शकमाझ राम्रो प्रभाव छाड्दै व्यावसायिक सफलता हासिल गरेको थियो। विशेषगरी उनको एक्सन प्रस्तुति र शारीरिक बनोटका कारण समीरले नेपाली चलचित्रमा नयाँ एक्सन अभिनेताका रूपमा चर्चा पाए।
तर त्यसपछि आएको चलचित्र ‘बलिदान’ भने अपेक्षित सफलता हासिल गर्न सकेन। यही कारण ‘१२ गाउँ २’ समीरका लागि आफ्नो एक्सन स्टारको छवि अझ बलियो बनाउने अवसरका रूपमा हेरिएको छ।
त्यसमाथि ‘१२ गाउँ २’ समीरका लागि भावनात्मक रूपमा पनि विशेष चलचित्र हो। उनका पिता तथा चर्चित एक्सन अभिनेता विराज भट्टले चलचित्रको निर्देशन गरेका छन्। विराज आफैं एक्सन चलचित्रका स्थापित अभिनेता हुन् र उनले आफ्ना छोरालाई पनि नेपाली चलचित्रमा एक्सन अभिनेताका रूपमा स्थापित गर्ने प्रयास गरिरहेका छन्।
यसैबीच चलचित्रको पहिलो गीत ‘जुनेली’ सार्वजनिक भइसकेको छ। गीतको भिडियोमा समीर भट्ट र डेब्यु अभिनेत्री कृशु शाही ‘काफिया’लाई आकर्षक शैलीमा प्रस्तुत गरिएको छ। विशेषगरी लामो समयपछि नेपाली चलचित्रको गीतमा ब्रेकडान्सलाई विशेष प्राथमिकता दिइएकाले गीतको भिडियोले दर्शकको ध्यान खिचेको छ।
सियोन श्रेष्ठको कोरियोग्राफी रहेको ‘जुनेली’मा युग भुसालको शब्द तथा संगीत र सुगम पोखरेलको स्वर रहेको छ। गीत सार्वजनिक भएपछि चलचित्रप्रतिको चासो थप बढेको निर्माण पक्षको विश्वास छ।
‘१२ गाउँ २’मा समीर र कृशुसँगै विराज भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ। यही चलचित्रबाट कृशु शाही ‘काफिया’ र वर्षा इटनीले नेपाली चलचित्रमा डेब्यु गर्दैछन्।
चलचित्रको कथा सन्तोष सरकारले लेखेका हुन् भने महेश पौडेलले छायांकन गरेका छन्। युग भुसाल र डीपी खनालको संगीत, बन्दे प्रसादको सम्पादन तथा रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन रहेको छ। द्वन्द्व निर्देशन स्टन्ट सिल्भा र शंकर महर्जनले गरेका छन्।
विराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा सरस्वती भट्टको लगानी छ। चलचित्रको वितरण अधिकार काफिया फिल्मस् र कुबेर सिनेमाले लिएका छन्।
अब मुख्य प्रश्न भनेको—‘१२ गाउँ’बाट स्टार बनेका समीरलाई ‘बलिदान’पछि दर्शकले फेरि त्यही उत्साहका साथ स्वीकार गर्लान् त? चलचित्रमा समीरको एक्सन, नृत्य र नयाँ प्रस्तुतिले दर्शकलाई हलसम्म तान्न सक्छ कि सक्दैन भन्ने कुरा प्रदर्शनपछि स्पष्ट हुनेछ।
‘१२ गाउँ २’ आगामी असोज ३० गते दशैँको फूलपातीको अवसरमा देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ।
Watch Reels:







३० भाद्र २०८३, मंगलवार १७:३८ 









