काठमाडौं । अभिनेता निखिल उप्रेतीको निर्माण, निर्देशन तथा अभिनय रहेको चलचित्र ‘आचार्य’को ट्रेलर सार्वजनिक भएको छ। असोज ९ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको करिब साढे तीन मिनेट लामो ट्रेलर शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो।
ट्रेलरमा निखिललाई दमदार एक्सन अवतारमा प्रस्तुत गरिएको छ। यसअघि सार्वजनिक टिजरमा देखाइएको एक्सनलाई ट्रेलरले थप विस्तार गरेको छ। तीव्र द्वन्द्व, एक्सन कोरियोग्राफी र मनोरञ्जनात्मक दृश्यले चलचित्र एक्सनप्रधान रहेको संकेत गर्छ।
यसअघि निर्माण, निर्देशन तथा अभिनय गरेको चलचित्र ‘भैरव’बाट एक्सन अवतारमा चर्चा पाएका निखिलले ‘आचार्य’मा एक्सनलाई अझ फराकिलो बनाएको ट्रेलरबाट देखिन्छ। पछिल्लो समय नेपाली चलचित्रमा कम देखिँदै गएको ‘मास इन्टरटेनर’ शैलीलाई पुनः प्रस्तुत गर्ने प्रयासका रूपमा चलचित्रलाई हेरिएको छ।
नेपालमा विदेशी चलचित्रको दबदबा रहेको अवस्थामा नेपाली बजेट, कन्टेन्ट र श्रमशक्तिबाट पनि अन्तर्राष्ट्रिय स्तरको मनोरञ्जनात्मक चलचित्र निर्माण गर्न सकिन्छ भन्ने उद्देश्यले ‘आचार्य’ तयार गरिएको निखिलले बताए।
‘हामी नेपाली चलचित्रले पनि विदेशी शैलीका चलचित्र बनाउन सक्छौं। त्यस्तो चलचित्र बनाएर नेपाली दर्शकलाई मनोरञ्जन दिन सक्यौं भने जंग जित्नु छ,’ निखिलले भने। आफूले हरेक चलचित्रमार्फत केही नयाँ दिने प्रयास गर्दै आएको बताउँदै निखिलले ‘आचार्य’मा पनि एक्सन र कन्टेन्टमा नयाँपन दिने प्रयास गरिएको बताए।

‘मैले आफ्नो चलचित्रमा केही नयाँ दिने कोसिस गर्दै आएको छु। यसमा पनि एक्सन र कन्टेन्टमा नयाँ दिने प्रयास गरेको छु। दर्शकले चलचित्र हेर्दा त्यो अनुभूति गर्नुहुनेछ,’ उनले भने। ‘आचार्य’मा निखिलसँगै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्चीको अभिनय रहेको छ। पूर्णिका सिजापतीले यही चलचित्रमार्फत नव–नायिकाका रूपमा डेब्यु गर्दैछिन् भने सजिना श्रेष्ठले पनि ‘आचार्य’बाटै अभिनयमा डेब्यु गरेकी छन्।
चलचित्रमा बलिउड कलाकार दीपजङ्ग राणा र रोहित चौधरीसँगै ध्रुव कोइराला, सुरेश कोहली, रञ्जित कोइराला, जेसिका पोखरेल, कृतिका, सरिता ज्ञवाली, अनुप तुलाधर, एलिस खनाल, अजय थापा, सुबिन गुरुङ, रोशनी र सोनिका वास्तोलालगायत कलाकारको अभिनय रहेको छ।
सौरभ लामा, मनु विक र नवराज थापाले छायांकन गरेको चलचित्रको एक्सन निर्देशन शुक्रराज शाहले गरेका हुन्। बन्दे प्रसादको सम्पादन रहेको चलचित्रको टिजर तथा ट्रेलर सन्देश शाहले तयार पारेका हुन्।
चलचित्रलाई मनोज राठीले वितरण गर्दैछन्। नेपालबाहिरको वितरणको जिम्मेवारी सेभेन सिज इन्टरनेसनलले लिएको छ भने ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा रहेको छ।







३ आश्विन २०८३, शनिबार १७:५२ 









