काठमाडौं । प्रेमिल भाव र मौलिक दोहोरीको स्वाद समेटिएको नयाँ गीत ‘पहिलो चरण’ सार्वजनिक भएको छ। सुरेश नगरकोटीको प्रस्तुतिमा तयार भएको गीतमा शितल गुरुङ र दिपिका बयम्बु मगरले स्वर दिएका छन्।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा लोक स्वर सम्राट राजु परियारले गीत तथा भिडियो विमोचन गरेका हुन्। गीतको शब्द तथा संगीत रमेश परियारको रहेको छ भने कृष्ण केसीले एरेन्ज गरेका छन्।
रोशन विश्वकर्माको निर्देशन तथा कोरियोग्राफीमा तयार भिडियोमा सुरेश कोहली, सुन्जना गुरुङ, तुल्सी गुरुङ र सुरेश नगरकोटीको अभिनय तथा प्रस्तुति रहेको छ। अजय रेग्मीले छायांकन गरेको भिडियोको सम्पादन तथा कलर मनोज कार्कीले गरेका छन्।
विमोचन कार्यक्रममा राजु परियारले गीत तथा भिडियोको प्रशंसा गर्दै शितल र दिपिकाको स्वरले गीतलाई थप आकर्षक बनाएको बताए। सर्जक शिव हमालले पनि ‘पहिलो चरण’ लोकसंगीत क्षेत्रमा राम्रो सिर्जनाका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा गीतकार रमेश परियारले गीतको सिर्जनाबारे जानकारी दिएका थिए भने शितल गुरुङ र दिपिका बयम्बु मगरले गीत प्रस्तुत गरेका थिए। गीत रमेश परियारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।







४ आश्विन २०८३, आईतवार १३:५९ 









