‘सिन्दूर’मा विपिन कार्की र निरुता सिंहको प्रवेश

...

काठमाडौं । लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘सिन्दूर’को छायांकन हाल दाङमा भइरहेको छ। कस्तुरी प्रोडक्सन प्रा.लिको प्रस्तुति तथा क्लासिक सिने युनिभर्स प्रा.लिको सहकार्यमा निर्माण भइरहेको चलचित्रमा अब अभिनेता विपिन कार्की र अभिनेत्री निरुता सिंह पनि जोडिएका छन्।

यसअघि चलचित्रमा पुष्प खड्का र प्रशंसा रायमाझीको मुख्य भूमिका रहने जानकारी सार्वजनिक गरिएको थियो। निर्देशक सुनारका अनुसार निरुताले केही दिनमै छायांकन सुरु गर्नेछिन् भने विपिनले दशैंपछि छायांकनमा सहभागी हुनेछन्। उनीहरूको भूमिकाबारे भने निर्माण पक्षले खुलाएको छैन।

सञ्जिव सार्कीको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता दिनेश सिंह महरा हुन्। एक महिनाको सेड्युलमा छायांकन भइरहेको चलचित्रले सामाजिक कथावस्तुलाई केन्द्रमा राखेको छ। विशेषगरी महिलाका लागि सिन्दूरको महत्व र त्यससँग जोडिएका सामाजिक तथा भावनात्मक पक्षलाई कथामा प्रस्तुत गरिने निर्देशक सुनारले बताएका छन्।

संकल्प भुजेलको छायांकन रहेको चलचित्रमा प्रशान्त सिवाकोटी, श्रीकृष्ण बम मल्ल र दिनेश ढकालको संगीत छ। एनबी महर्जनको एक्सन तथा रामजी लामिछानेको नृत्य निर्देशन रहेको चलचित्रको प्रदर्शन मिति भने तय भएको छैन।