काठमाडौं । अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराईको मुख्य भूमिका रहेको चलचित्र ‘शुभ विवाह’को सम्पूर्ण छायांकन ४० दिनमै सकिएको छ।
सुदर्शन थापाको निर्देशनमा निर्माण भएको चलचित्रको ४५ दिनको छायांकन तालिका रहे पनि कलाकार तथा प्राविधिकको मेहनतका कारण पाँच दिनअघि नै काम सकिएको निर्देशक थापाले बताएका छन्। चलचित्रको छायांकन पोखराबाट सुरु गरिएको थियो।
प्रियदर्शन फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप र सनिशासँगै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्दकिशोर भट्टराई, कृष्ण ढुंगाना, विशाल पहारीलगायतको अभिनय छ।

निर्देशक थापा र अभिनेता प्रदीपले यसअघि चलचित्र ‘प्रेम गीत’मा सहकार्य गरेका थिए। सुप्रिया कटुवालको लगानी रहेको चलचित्रमा साम भुजेल कार्यकारी निर्माता छन्। कथा प्रदीप श्रीवास्तवको तथा पटकथा र संवाद रामशरण पाठकको रहेको छ।
फागुन २१ गते नेपालभर प्रदर्शनमा आउने चलचित्रको वितरण भीष्म फिल्मस् र श्री राम बालाजीले गर्नेछन् भने डिजिटल पार्टनर बुढासुब्बा डिजिटल रहेको छ।








१९ आश्विन २०८३, सोमबार १५:१५ 









