‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ट्यालेन्ट शो सम्पन्न

...

काठमाडौँ । सौन्दर्य प्रतियोगिता केवल बाहिरी आकर्षणमा सीमित हुँदैन, व्यक्तित्व, सिर्जनशीलता र प्रतिभा प्रस्तुत गर्ने अवसर पनि हो। यही सन्देशसहित ह्वीसपर मिसेस नेपाल वर्ल्ड २०२६ को ट्यालेन्ट शो सम्पन्न भएको छ। उपाधिका लागि अन्तिम प्रतिस्पर्धामा रहेका २२ महिलाले नृत्य, अभिनय र कविता वाचनलगायतका प्रस्तुतिमार्फत आफूभित्र लुकेको प्रतिभा उजागर गरेका छन्।

प्रतियोगीहरूले आ–आफ्नो रुचि र क्षमताअनुसार दिएका प्रस्तुतिले ट्यालेन्ट राउण्डलाई थप रोचक बनाएको थियो। यस चरणबाट मिसेस ट्यालेन्ट छनोट गरिनेछ। आयोजक संस्था रिवन इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले अन्तिम स्पर्धाकै दिन उक्त उपाधि विजेताको घोषणा गरिने जानकारी गराएका छन्।

ट्यालेन्ट राउण्डको मूल्यांकन संगीतकार राजु सिंह, नृत्य निर्देशक जोगेन्द्र केसी, अभिनेता तथा मोडल यसराज गराच र शिक्षाविद् ज्ञानेन्द्र लामाले गरेका थिए। आगामी कात्तिक १४ गते काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा हुने प्रतियोगिताको अन्तिम स्पर्धामा प्रियशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋचा शर्मा, स्वेक्षा पौड्याल, रस्ना श्रेष्ठ, यस्मिन बेगम सइद, नेहा गुप्ता, दिप्ती ढुंगेल, बिन्दु थापा राना, शिल्पा न्यौपाने, शान्ता राना, सुनिता श्रेष्ठ कर्माचार्य, सन्ध्या लामा, बिनिता गुरुङ, ज्योति लामिछाने, समीक्षा रानाभाट, सुष्मा थापा, क्रिस्टिना ज्ञवाली, अञ्जु परियार, मोनिका तामाङ र कञ्चन महर्जन उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। ट्यालेन्ट शोमा सबै प्रतियोगितले आफुमा अर्न्तनिहीत प्रतिभा प्रदर्शन गरेका थिए।

गृहिणीदेखि डाक्टर, इन्जिनियर, बैंकर, व्यवसायी, नर्स र फेसन डिजाइनरसम्म विभिन्न पेसामा सक्रिय महिलाहरूको सहभागिताले प्रतियोगितालाई विविधतापूर्ण बनाएको छ। आ–आफ्नो कार्यक्षेत्रमा पहिचान बनाइरहेका यी २२ प्रतिस्पर्धीले अन्तिम स्पर्धामा प्रतिभा, आत्मविश्वास र व्यक्तित्व प्रस्तुत गर्नेछन्।

प्रतियोगिताबाट छानिने मिसेस नेपाल वर्ल्डकी विजेताले अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्। यससँगै एउटै मञ्चबाट मिसेस नेपाल इन्टरनेसनल, एमएस इन्टरनेसनल र मिसेस कोस्मोका विजेतासमेत चयन गरिने आयोजकले जनाएका छन्। ती उपाधिका विजेताले सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने प्रतियोगिताकी अर्की आयोजक शिला बास्तोलाले जानकारी गराइन्।

अश्विनी झाको कोरियोग्राफी तथा निशा बराइलीको सह–कोरियोग्राफीमा आयोजना हुने मिसेस नेपाल वर्ल्ड २०२६ गङ्गा महर्जन र विन्दिया श्रेष्ठको संयोजनमा सम्पन्न हुनेछ।