काठमाडौं । लोकप्रिय हास्य टेलिभिजन शो ‘कमेडी दरबार’का चर्चित कलाकार पवन खतिवडा ‘म्याकुरी’ले शोबाट बिदा लिने संकेत गरेका छन्। शोको तेस्रो सिजन सम्पन्न भएसँगै उनले केही वर्ष स्टेजमा नदेखिने निर्णय लिएको जानकारी दिएका हुन्।
म्याकुरीले सामाजिक सञ्जाल फेसबुकमार्फत दर्शकले आफूलाई दिएको मायाप्रति आभार व्यक्त गर्दै अब ‘कमेडी दरबार’को आगामी सिजनमा आफूलाई देख्न नपाइन सक्ने बताएका छन्।
उनले लेखेका छन्, ‘म्याकुरीलाई यति माया दिनुभयो, त्यसको लागि धन्यवाद। सायद अब कमेडी दरबारको अर्को सिजनमा मलाई हजुरहरूले देख्न पाउनुहुने छैन होला। केही वर्ष मैले स्टेजमा नदेखिने निर्णय लिएको छु।’
‘कमेडी दरबार’का तीनवटै सिजनमा आफ्नो कमेडी र अभिनयमार्फत दर्शकको मन जित्न सफल म्याकुरी शोका लोकप्रिय पात्रमध्ये एक हुन्। उनको प्रस्तुतिलाई दर्शकले रुचाउँदै आएका छन्। तेस्रो सिजन सकिएसँगै उनले लिएको यो निर्णयले आगामी सिजनमा उनलाई हेर्न नपाइने सम्भावना बढाएको छ।
यद्यपि, म्याकुरीले मनोरञ्जन क्षेत्रबाट पूर्ण रूपमा टाढिने भनेका छैनन्। उनले आफ्नो लोकप्रिय युट्युब सिरिज ‘ज्वाईसाप’को दोस्रो सिजन ल्याउने तयारी गरिरहेको जानकारी दिएका छन्। यसअघि युट्युबमार्फत सार्वजनिक हुँदै आएको ‘ज्वाईसाप’लाई नयाँ सिजनमा प्रस्तुत गर्ने उनको योजना छ।
‘कमेडी दरबार’को चौथो सिजन कहिलेदेखि सुरु हुन्छ भन्नेबारे निर्माण टिमले औपचारिक जानकारी दिएको छैन। विक्की अग्रवाल र श्रद्धा प्रसाईंले निर्देशन गर्दै आएको यो हास्य टेलिभिजन शो नेपाली दर्शकमाझ लोकप्रिय छ। म्याकुरीले स्टेजबाट केही वर्षका लागि विश्राम लिने निर्णय गरे पनि ‘ज्वाईसाप’को दोस्रो सिजनमार्फत दर्शकमाझ आउने तयारीले उनका प्रशंसकलाई भने नयाँ प्रस्तुतिको प्रतीक्षा गराएको छ।




१३ कार्तिक २०८३, बिहीबार ११:४८ 








