बैशाख, तनहुँ ।

लोक कलाकार विरही कार्कीले देवघाटमा रहेको देवघाट समाज कल्याण केन्द्र (वृद्धाश्रम) लाई आर्थिक सहयोग गरेका छन् । मातातीर्थ औंसीको अवसर पारेर आश्रमको संरक्षण, सम्बद्र्धन र सम्मानका लागि दैनिक रु. १ बाट १ करोड अभियानलाई कार्कीले फूलमाया कार्की फाउण्डेशनका तर्फबाट नगद दसहजार प्रदान गरेका हुन् । साथै कार्कीले दिवंगत आमाको स्मृतिमा सञ्चालन गरेको फूलमाया कार्की फाउण्डेसनका तर्फबाट बेसहारा छोरीहरूको संरक्षणको क्षेत्रमा काम गर्दै आएको कुसुम साहारा घरका २ जना बालिका कक्षा १ देखि १२ सम्म निःशुल्क पढाउने घोषणा गरेका छन् ।

फाउण्डेशनले यस वर्षबाटै ७ जना बालबालिकाहरूलाई कक्षा १२ सम्म निःशुल्क पढाउने भएको छ । देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको आश्रममा ३३ जना असहाय वृद्धवृद्धा र बेसाहाराहरूले संरक्षण लिँदै आएका छन् । कोषमा हालसम्म ९ लाख रकम संकलन भइसकेको छ ।

फाउण्डेशनका तर्फबाट अहिलेसम्म असहाय, बेसाहारा ४ जना बालबालिकालाई निःशुल्क पढाउने काम गरिएको अध्यक्ष विरही कार्कीले जानकारी दिए । गोरखाको पालुङ्टारमा रहेको ठाँटीपोखरी बालज्योति इङेलिस बोर्डिङ स्कुलमा अध्ययनरत २ जना बालबालिकालाई फाउण्डेसनका तर्फबाट कार्कीले निःशुल्क पढाउँदै आएका छन् ।

कलाकारिता पेसा मात्रै गर्नु कलाकारको काम नभई कलाकारहरूले समाज सेवामा अगुवाइ गरे अन्य नागरिकहरूलाई पनि त्यसले प्रभाव पर्ने र सकारात्मक र सहयोगी समाज निर्माणमा सहयोग पुग्ने कार्कीले बताए । फाउण्डेशनले यसभन्दा अघि भरतपुर अस्पतालमा उपचार गराएकी सुस्त मनस्थिति भएकी बालिका शोभा श्रेष्ठ, क्यान्सर रोगबाट पीडित काभ्रेका रामकुमार लामा, फोक्सोसम्बन्धी रोगबाट पीडित बनेर उपचार गराइरहेका लोक तथा दोहोरी गायक सागर बोहोरा, दुवै खुट्टा नभएका धरानका मिनबहादुर तामाङ, साउदीमा मृत्युदण्डको सजाय सुनाइएका काभ्रेका रामचन्द्र तिमिल्सिनालाई आर्थिक सहयोग गरेको छ ।

साथै संस्थाले लोक तथा दोहोरी गीत प्रतिष्ठानको भवन निर्माण, मनकामना मन्दिरको जीर्णोद्धारमा आर्थिक सहयोग गरेको अध्यक्ष कार्कीले जानकारी दिए । फाउण्डेशनमा हालसम्म स्वदेश र विदेशमा गरी ५५ जना आजीवन सदस्य छन् ।