‘पशुपति प्रसाद २ भष्मे डन’मा छैनिन् बर्षा सिवाकोटी, भन्छिन्- ‘मन दुखाएकी छैन’

...

माघ, काठमाडौँ । चलचित्र ‘पशुपति प्रसाद २ भष्मे डन’को औपचारिक कार्यक्रम गरिने निर्माणको घोषणा गरियो । आइतबार काठमाडौको हात्तिसारस्थित नेपाल हाउसमा निर्माण घोषणा गरिएको थियो जहाँ कलाकारहरु पनि चिनाइयो । तर ‘पशुपति प्रसाद’की मुख्य अभिनेत्री बर्षा सिवाकोटीको अभिनय नरहने जानकारी गराइयो । उक्त जानकारी गराउँदा बर्षा पनि सोहि कार्यक्रमको स्टेजमै थिइन् । अर्थात उनलाई सोहि कुरा थाहा दिएरै अतिथिको रुपमा बोलाइएको थियो । चलचित्रमा नायिका स्वस्तिमा खड्कालाई अनुबन्धित गरिएको छ । 

सातबर्ष पुगेको उपलक्ष्यमा बर्षा केक काट्नका लागी मात्र उक्त कार्यक्रममा उपस्थित थिइन् । त्यतिकैमा पत्रकारले प्रश्न गर्छन्, ‘तपाई पशुपति प्रसाद २ मा हुनुहुन्न र तपाईको ठाउँमा स्वस्तिमा खड्का हुनुहुन्छ भन्ने थाहा पाउँदा मन दुखेन ?’ यस प्रश्नमा बर्षाले सुरुमा भन्छिन्, ‘सुरुमा सुन्दा त मन कस्तो कस्तो भयो तर पछि बुझ्दा पशुपति प्रसादको सिक्वेल नभएर भष्मे डनको क्यारेक्टरलाई लिएर चलचित्र बन्न लागेको भन्ने बुझेपछि कन्भिन्स भएँ ।’ 

चलचित्रको निर्माण टिमले यो चलचित्र ‘पशुपति प्रसाद’को दोस्रो सिक्वेल नभएको जानकारी गराएको छ । चलचित्रको प्रमुखमध्येको एक पात्र भष्मे डनको चरित्रमाथि चलचित्र निर्माण हुन लागेको बताइएको छ ।

चलचित्रमा बर्षाको साथमा खगेन्द्र लामिछानेको पनि अभिनय रहनेछैन । तर खगेन्द्र यो चलचित्रको लेखक र निर्माताको रुपमा रहेका छन् । चलचित्रमा विपिन कार्कीको पनि मुख्य भूमिका रहनेछ । टुकी आर्टस्को ब्यानरमा निर्माण हुने यो चलचित्रमा विपिन र स्वस्तिमासँगै सौगात मल्ल, प्रकाश घिमिरे, रबिन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर, विभू पौडेल, प्रकाश दाहाल लगायतको अभिनय रहने बताइएको छ ।

चलचित्रको डिओपीमा निरज कँडेल, छायांकार कृष्ण थापा, सम्पादक दिर्घ खड्का रहेका छन् । चलचित्रमा कृष्ण भारद्धाज र सुवास भुसालले संगीत दिनेछन् । साथै चलचित्रको प्रदर्शन आगामी बर्ष २०८० को फुलपातीमा गरिने जानकारी गराइयो ।