‘चमेलीको पोइ’को फर्स्टलुक पोस्टर सार्वजनिक

...

काठमाडौँ। चलचित्र  ‘चमेलीको पोइ’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ। एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘चमेलीको पोइ’ राम नवमीको दिन पारेर आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले बुधबार फिल्मको तीन पोस्टर फष्टलुक्सको रूपमा सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

फिल्मको फष्टलुक्समा अभिनेता मुकुन भुषाल र अभिनेत्री सुरक्षा पन्त श्रीमान् श्रीमतीको रूपमा देखिएका छन् ।  तीनवटा पोस्टरको केन्द्रमा फिल्मका मुख्य जोडी सुरक्षा पन्त र मुकुन भुषाललाई देख्न सकिन्छ । एउटामा सुरक्षाले मुकुनको दुवै खुट्टा समातेर घिसारिरहेकी छन् भने दोस्रोमा मुकुन हातमा गुलाबको फूल र सानो ठेकी लिएर सुरक्षाको साथमा उभिएका छन् । सुरक्षाले भने काँधमा बन्दुक भिरेकी छन् । उनी हर्षित भावमा देखिन्छिन् । त्यस्तै, तेस्रो पोस्टरमा मुकुनले सुरक्षाको खुट्टा मिचिरहेका छन् ।

फिल्मका निर्माता सुनिता सापकोटा, राम नारायण उपाध्याय हुन् । उदय विक्रम राणा र रितु मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा सुरक्षा पन्त, मुकुन भुषाल, नारायण त्रिपाठी, विल्सन विक्रम राई,रवीन्द्र झा, खड्ग बहादुर पुन मगर, उमेश राई, रजनी गुरुङ, लगायतको अभिनय छ ।