‘परान’ २०८२ को सबैभन्दा सफल नेपाली फिल्म, अब पोर्चुगलमा प्रदर्शन हुने

...

काठमाडौँ । दीपक आचार्य ‘काकु’ निर्देशित सुपरहिट चलचित्र ‘परान’ २०८२ सालको सबैभन्दा धेरै कमाइ गर्ने नेपाली फिल्मको सूचीमा पहिलो स्थानमा पर्न सफल भएको छ। परिवार, सम्बन्ध र सङ्घर्षको भावनात्मक कथालाई दर्शकसमक्ष प्रभावकारी ढङ्गले प्रस्तुत गरेको फिल्मले देशभर निकै राम्रो व्यापारीक सफलता पाएको थियो।

फिल्ममा नीर शाह, केकी अधिकारी, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राई लगायत प्रशंसित कलाकारको अभिनय समावेश छ।

अब यो सफल फिल्म पोर्चुगलमा पनि प्रदर्शनमा आउन लागिरहेको निर्माण टोलीले जानकारी दिएको छ। पाँच जना युवाहरूले मिलेर निर्माण गरेको ‘थ्याङ्क यू इन्टरटेनमेन्ट’को प्रस्तुतिमा ‘परान’ पोर्चुगलमा नेपाली समुदाय धेरै रहेको स्थानमा पहिलोपटक देखाइने भएको हो।

पोर्चुगलको राजधानी लिस्बनस्थित क्याम्पो पिकेनोको सिनेमा सिटी हलमा डिसेम्बर १, २ र ३ गते साँझ ५ बजे फिल्म प्रदर्शन गरिनेछ।

‘थ्याङ्क यू इन्टरटेनमेन्ट’मा कलाकार तथा समाजसेवी सन्तोष तामाङ, निर्देशक प्रवेश पौडेल, मोडल तथा व्यवसायी भावेश बस्नेत, रेस्टुरेन्ट व्यवसायी अनिल अधिकारी र समाजसेवी सन्जिब शाह आबद्ध छन्।

समूहले ‘परान’पछि पनि निरन्तर रूपमा नेपाली चलचित्रहरु पोर्चुगलमा प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय बजार विस्तार र नेपाली फिल्म उद्योगलाई विश्वमा चिनाउने अभियानलाई अघि बढाइने जनाएको छ।