काठमाडौँ । आउँदै गरेको जेठ महिनाको ८ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘काजी’को पहिलो गीतको रुपमा वारि बर पारि पीपलु सार्वजनिक गरिएको छ । फिल्म निर्माण टिमले काठमाडौँमा कार्यक्रम गर्दै गीत सार्वजनिक गरेको हो । चर्चित संगीतकार काली प्रसाद बास्कोटाको शब्द तथा संगीत रहेको गीत गांगा सोनाम र करण परियारले गाएका छन् । उनीहरू दुवै जना नेपाल आइडलका विजेता हुन् ।
पतिपत्नीबीचको प्रेम कथा रहेको गीतको भिडियोमा अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारी किसानको भूमिकामा देखिएका छन्। फिल्मकै कथामा गीतको छायांकन गरिएको छ। जसमा उनीहरु प्रेमिल दैनिकीसँगै बिहानको पूजापाठदेखि खेतबारीको कामको दृश्य समेटिएको छ।
रिजाल एन्ड रिजाल प्रोढक्सनको प्रस्तुति रहेको फिल्म लक्ष्मण रिजालले निर्देशन गरेका हुन्। केकी र विपीनसहित फिल्ममा गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीप बाबु लोहानी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा, प्रशंसा सुबेदी, नवराज गिरी र बाल कलाकार दिक्षिता अर्याल, आरव बराल, सुपला सापकोटाले लगायत कलाकारले अभिनय गरेका छन्।
निर्माण टिमका अनुसार फिल्म भावनात्मक तथा सामाजिक कथामा आधारित छ, जसले मानवीय सम्बन्ध, माया, पीडा र जिम्मेवारीका विभिन्न पाटाहरूलाई उजागर गर्ने प्रयास गरको छ। फिल्म यही जेठ ८ गत देशभर प्रदर्शन हुनेछ । प्रदीप भारद्धाजको कथा लेखन रहेको फिल्म राजभण्डारीले छायांकन गरेका हुन्।
फिल्म कालीप्रसाद बास्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, रंग संयोजक श्याम कुँवर र सुजिल कर्माचार्यको पार्श्व संगीत, नृत्य निर्देशक कविराज गहतरज, प्रोडक्सन हेड प्रकाश हमाल, सम्पादन सुपरभाइजर बनिश शाह र सम्पादक विपीन मल्ल रहेका छन् ।
असिम काफ्ले कार्यकारी निर्माता रहेको सिनेमाका निर्मातामा राम प्रसाद रिजाल, नेहान रिजाल र विकाश राज जोशी छन् ।





१७ बैशाख २०८३, बिहीबार १६:४४ 










