मदनकृष्ण श्रेष्ठको आँखामा आँसु: आफ्नै गीत, विगत र सम्झनाले भरिएको भावनात्मक क्षण

...

काठमाडौं । सामान्यतया मुस्कानमै रमाउने वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ आज फरक मुडमा देखिए। केहि मिडियाकर्मी र कलाकर्मीको उपस्थितिमा आयोजित कार्यक्रममा उनले यस्तो भावनात्मक क्षण अनुभव गरे, जसले क्षणभरमै माहोल स्तब्ध बनायो।

कार्यक्रममा मदनकृष्ण श्रेष्ठसँगै उनका सहयात्री हरिवंश आचार्य पनि उपस्थित थिए। स्टेजमा एक टिमले मदनकृष्णको आफ्नै स्वरमा रहेको चर्चित गीत प्रस्तुत गरिरहेको थियो। तर यो प्रस्तुति सामान्य थिएन।

स्क्रिनमा उनका जीवनका पुराना पलहरू एकपछि अर्को गर्दै जीवन्त बनेस्वर्गीय श्रीमती यसोधासँगका आत्मीय क्षणहरू, युवावस्थाका रमाइला दिनहरू र सम्झनाले भरिएका पुराना तस्बिरहरू। आधुनिक प्रविधि एआईको सहायताले ती स्थिर तस्बिरलाई चलायमान बनाइएपछि दृश्य अझ भावुक बनेको थियो।

आफ्नै गीत, आफ्नै विगत र आफ्नै जीवनका झलकहरू एकैसाथ देखिँदा मदनकृष्ण श्रेष्ठ भावनामा बहिए र उनका आँखाबाट आँसु झरे। केही क्षण कार्यक्रम स्थल स्तब्ध रह्यो, दर्शकहरू पनि मौन बने।

यो विशेष क्षण सोमबार आयोजित एक फिल्म घोषणा कार्यक्रममा भएको हो। सोही कार्यक्रममा मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो। फिल्मको नाम पनिमदनकृष्णराखिएको छ।

निर्माण टिमका अनुसार फिल्ममा मदनकृष्ण श्रेष्ठको भूमिकामा अभिनेता महेश त्रिपाठी देखिनेछन् भने उनकी श्रीमती यसोधाको भूमिकामा अभिनेत्री केकी अधिकारी रहनेछिन्। फिल्मलाई निर्देशक मिलन चाम्स ले निर्देशन गर्नेछन्।

आगामी भदौबाट छायांकन सुरु हुने बताइएको यस फिल्मले मदनकृष्ण श्रेष्ठको जीवनयात्रा, संघर्ष र सफलताको कथा पर्दामा उतार्ने अपेक्षा गरिएको छ।

 

सम्बन्धित समाचार पढ्नुहोस्ः