‘डियर काव्या’को औपचारिक घोषणा, उपासना र बिक्की समशेरको जोडी देखिँदै

...

काठमाडौं । गोल्डेन वल्फ पिक्चर्सको ब्यानरमा निर्माण हुने नयाँ नेपाली चलचित्रडियर काव्याको औपचारिक घोषणा गरिएको छ । बिहीबार बिजेश्वरीस्थित होटल बज्रमा आयोजित भव्य समारोहमा ३० फिट लामो पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो ।

चलचित्रमा उपासना सिंह ठकुरी र बिक्की समशेर खड्का मुख्य भूमिकामा देखिनेछन् । बिक्कीका लागि भनेडियर काव्याडेब्यु चलचित्र हुनेछ । उनी थिएटरका विद्यार्थी हुन् । सार्वजनिक पोस्टरमा उपासना र बिक्कीलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । पोस्टरमा बिक्कीको घाँटीमा रहेको गलबन्दी उपासनाले तान्दै उनलाई नजिक ल्याएको देखिन्छ । पोस्टरको पृष्ठभूमिमा नेपालगन्ज शहरसँगै कर्णाली पुललाई देखाइएको छ ।

चलचित्रलाई श्रद्धा प्रसाईंले निर्देशन गर्नेछिन् । उनका लागि यो दोस्रो निर्देशकीय चलचित्र हो । यसअघि उनले निर्देशन गरेकोककाकिकीप्रदर्शनको तयारीमा छ ।डियर काव्याको छायांकन आगामी मंसिरबाट सुरु गर्ने निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा गौरी मल्ल, तृप्ति नाडकर, अनुप बराल, सन्तोष थापा र खड्गबहादुर पुन मगर लगायत कलाकारको अभिनय रहनेछ ।

चलचित्रका निर्माता देवी सिंह र हेमकुमारी भेटुवाल हुन् भने दिया मास्के र सन्दीप दंगोल कार्यकारी निर्माता रहेका छन् । लाइन प्रोड्युसर अर्जुन पौडेल हुन् । चलचित्रको पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गर्नेछन् भने मेकअपको जिम्मेवारी प्रिया कार्कीले सम्हाल्नेछिन् । चलचित्रको मिडिया कोअर्डिनेटर चलचित्र पत्रकार गोपिकृष्ण चापागाईं हुन् ।

dear Kavya Movie

चलचित्रको औपचारिक घोषणाका क्रममा निर्देशक श्रद्धा प्रसाईंले आफूलाई विश्वास गरेर निर्देशनको जिम्मेवारी दिइएकोमा खुसी व्यक्त गरिन् । उनले यो आफ्नो दोस्रो निर्देशकीय चलचित्र भएको बताउँदै यसअघि निर्देशन गरेकोककाकिकीपनि प्रदर्शनको तयारीमा रहेको जानकारी दिइन् ।डियर काव्याका लागि पनि आफूहरूले भरपूर मेहनत गर्ने उनको भनाइ थियो ।

कार्यकारी निर्माता दिया मास्केले निर्माताका रूपमा चलचित्रमा आफ्नो पहिलो यात्रा सुरु गर्न लागेको बताइन् । चलचित्र निर्माण आफ्ना लागि नयाँ अनुभव हुने उल्लेख गर्दै उनले फिल्मबारे थप जानकारी क्रमशः सार्वजनिक गर्दै जाने बताइन् ।

डेब्यु अभिनेता बिक्की समशेर खड्काले आफ्नो पहिलो चलचित्रका लागि आफूलाई विश्वास गरेर अवसर दिएकोमा निर्माण टिमप्रति आभार व्यक्त गरे । उनले दिया मास्के र अनुप बराल आफ्ना अभिनय गुरु रहेको उल्लेख गर्दै उहाँहरूले आफूलाई विश्वास गरेर चलचित्रमा लिएको बताए ।

त्यस्तै, अभिनेत्री उपासना सिंह ठकुरीलेडियर काव्याका लागि आफूलाई छनोट गरेकोमा निर्माण टिमप्रति आभार व्यक्त गरिन् । विशेषगरी दिया मास्केलाई धन्यवाद दिँदै उनले महिला निर्देशकसँग पहिलोपटक काम गर्न लागेकाले आफू उत्साहित रहेको बताइन् ।

निर्माण पक्षका अनुसार चलचित्रको कथावस्तु तथा अन्य प्राविधिक पक्षबारे थप जानकारी आगामी दिनमा सार्वजनिक गरिनेछ । चलचित्रको छायांकन मंसिरबाट सुरु गर्ने तयारी भइरहेको छ ।
Dear Kavya Film official poster