‘सुदूर कर्णाली सिंगिङ एण्ड डान्सिङ स्टार २०२६’ मा गायनमा राजेन्द्र र नृत्यतर्फ हानिश विजेता

...

धनगढी । सनिश्चर म्युजिक कम्पनी प्रालिको आयोजनामा सम्पन्न ‘सुदूर कर्णाली सिंगिङ एण्ड डान्सिङ स्टार २०२६’ को गायनतर्फ राजेन्द्र दयाल र नृत्यतर्फ हानिश मौनी विजेता बन्नुभएको छ । धनगढीस्थित होटल पौवामा सम्पन्न प्रतियोगिताको ग्राण्ड फिनालेमा विभिन्न चरण पार गर्दै आएका प्रतियोगीले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । फिनालेबाट गायन र नृत्य विधामा उत्कृष्ट पाँच प्रतियोगी छनोट भएका हुन् ।

गायनतर्फ धर्मराज तिमिल्सिना प्रथम, महेश्वर थापा मगर द्वितीय, सुन्दरनाथ योगी तृतीय र धर्मेन्द्र धामी चौथो रनरअप बन्नुभयो । त्यसैगरी, नृत्यतर्फ सिर्जना बीके प्रथम, उमेश परियार द्वितीय, रेस्मी ठगुन्ना तृतीय र सपना चुडारा चौथो रनरअप घोषित हुनुभयो ।

प्रतियोगिताको निर्णायक टोलीमा ग्राण्ड जज जेम्स जोशीसहित भवानी रेग्मी, नरेन्द्रराज रेग्मी र शमिर परियार रहनुभएको थियो । कार्यक्रमको सञ्चालन अनिता धामीले गर्नुभएको थियो भने सह–निर्माता प्रमिला सिलवालको पनि उपस्थिति थियो । कार्यक्रमको व्यवस्थापन तथा आयोजनाको नेतृत्व कार्यक्रम निर्देशक सुदीप जोशीले गर्नुभएको थियो ।

प्रतियोगिताको नतिजा सार्वजनिक मत र निर्णायकको मतका आधारमा निर्धारण गरिएको आयोजकले जनाएको छ । त्यसका लागि अन्तर्राष्ट्रिय भोट, ईसेवा भोटिङ र भोटिङ पासको व्यवस्था गरिएको थियो । प्रत्येक निर्णायकलाई ५०० मताधिकार दिइएको थियो भने अन्य माध्यमबाट असीमित मत दिन सकिने व्यवस्था थियो ।

प्रतियोगिताका विजेताले नगद दुई लाख रुपैयाँसहित अडियो तथा म्युजिक भिडियो निर्माणका लागि चार लाख रुपैयाँबराबरको अवसर र अन्तर्राष्ट्रिय भ्रमणको पुरस्कार प्राप्त गर्नेछन् । प्रथम रनरअपले ७० हजार र तीन लाख रुपैयाँबराबरको अडियो तथा म्युजिक भिडियो निर्माणको अवसर पाउनेछन् ।

त्यस्तै, द्वितीय रनरअपले ३० हजार र दुई लाख रुपैयाँबराबरको अवसर, तृतीय रनरअपले १३ हजार र एक लाख रुपैयाँबराबरको अवसर तथा चौथो रनरअपले पाँच हजार र ५० हजार रुपैयाँबराबरको अडियो तथा म्युजिक भिडियो निर्माणको अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रमलाई अमेरिकास्थित केटीज स्मोकहाउसले मुख्य सहयोगीका रूपमा साथ दिएको थियो । ईसेवा भोटिङ पार्टनर, खबर एण्ड लाइभ मिडिया पार्टनर, भायानेट इन्टरनेट पार्टनर, डीजे अशोक साउण्ड सिस्टम पार्टनर, कालभैरव ज्वेलर्स सपोर्टिङ पार्टनर, एष्ट्रा कन्सल्टिङ ग्रुप शिक्षा पार्टनर र होटल रिस्ता होटल पार्टनरका रूपमा जोडिएका थिए । होटल पौवा कार्यक्रमको भेन्यु पार्टनर रहेको थियो ।

आयोजक सनिश्चर म्युजिक कम्पनी प्रालिले प्रतियोगिताले सुदूरपश्चिम र कर्णाली क्षेत्रका प्रतिभालाई आफ्नो कला प्रस्तुत गर्ने, क्षमता विकास गर्ने तथा सांगीतिक र नृत्य क्षेत्रमा पहिचान स्थापित गर्ने अवसर प्रदान गरेको जनाएको छ ।